Monday June 3, 2024
BS 2081 Jestha 21
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

लन्डनको आतंककारी आक्रमणमा नेपाली सुरक्षित (Images)

Mar 23, 2017 under Current Affairs 114 , Accidents/Incidents 105 , World 513

चैत्र १०, २०७३- लन्डनको मुटु वेष्टमिनिष्टरमा बुधबार दिउँसो भएको आतंककारी आक्रमणमा एक प्रहरी अधिकृतसहित पाँच जना मारिएका छन् । बेलायती संसद भवन नजिक भएको उक्त आक्रमणमा पैदल हिँडिरहेका कम्तीमा ४० घाइते भएका छन् । घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । 

मेट्रोपोलिटन पुलिस असिस्टेन्ट कमिश्नर मार्क राउलीले आक्रमण इस्लामिक उग्रवादीसँग सम्बन्धित रहेको जनाउँदै आक्रमणकारीको पहिचान भइसकेको बताएपनि विस्तृत विवरण दिएका छैन । मारिने प्रहरी अधिकृत ४८ वर्षीय पिसी किथ पाल्मर रहेको बेलायती प्रहरीले जनाएको छ । प्रहरीले घटनालाई आतंकवादी आक्रमण भन्दै थप अनुसन्धान भइरहेको बताएको छ ।

 

 

बीबीसीका अनुसार, पर्यटकहरुले खचाखच भरिने वेष्टमिनिस्टर पुलको पेटीमा हिँडिरहेका पैदल यात्रुमाथि अन्धाधुन्ध कार कुदाएर एक संदिग्ध आतंककारीले कार रेलिङमा ठोक्काएको थियो । पछि उक्त आक्रमणकारीले संसद भवनको सुरक्षा दिइरहेका प्रहरीलाई धारिलो चक्कु प्रहार गरेको समाचारमा जनाइएको छ । सशस्त्र प्रहरीले आक्रमणकारीलाई गोली हानी मारिदिएका छन् । 

उक्त आक्रमणमा हालसम्म नेपाली परेको खबर नआएको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जनाए । उनले नेपालीहरुलाई अलिक चनाखो भएर व्यस्त ठाउँमा सतर्कता अपनाउन आग्रह गरेका छन् । आरणले बेलायत सरकारबाट हालसम्म सुरक्षा संवेदनशीलताबारे ‘अलर्ट’ नआएको पनि जनाए ।

 

घट्नापछि करिब हजार जनालाई सुरक्षित स्थान वेष्टमिनिष्टर आबीमा लगिएको थियो । हाउस अफ कमन्समा संसद चलिरहेका बेला उक्त घट्ना भएपछि सांसदहरु चार घण्टा भित्रै थुनिएका थिए ।

 

सरकारको आपतकालिन कोब्रा बैठकपछि बेलायती प्रधानमन्त्री टेरेजा मेले भावुक मुद्रामा घट्नाको भत्र्सना गर्दै लन्डनको आतंककारी घट्नाबाट बेलायती मुल्य मान्यता परास्त हुन नसक्ने बताएकी छन् । उनले घट्नालाई मानवता विरोधी र रुग्ण बताउँदै भनेकी छन्, ‘आतंककारीहरुले हाम्रो राजधानीको मुटुलाई निसाना बनाए जहां संसारभरका विभिन्न धर्म र संस्कृति भएका मानिस स्वतन्त्रता, प्रजातान्त्रिक मुल्य मान्यता र वाक स्वतन्त्रता अनुभूति गरिरहेका छन् ।’

 

लन्डन मेयर सादिक खानले एउटा भिडियो मन्तव्यमा आतंकवादबाट लन्डनवासी कहिल्यै त्रसित नहुने बताएका छन् । विश्व नेताहरुले लन्डन आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री टेरेजा मेसँग फोन सम्पर्क गरि आफ्नो सरकारको पूर्ण साथ रहेको बताएका छन् । फ्रान्स, जर्मनी, क्यानडा, स्पेन आदि देशका नेताहरुले पनि घटनाप्रति शोक व्यक्त गर्दै बेलायत सरकारप्रति ऐक्यवद्धता जनाएका छन् । 

 

यूके केही वर्ष यता आतंकवादको निसानामा पर्दै आएको थियो । सरकारले बेलायतभित्र जुनैपनि बेला आक्रमण हुन सक्ने उच्च सम्भावना रहेको निष्कर्षसहित सुरक्षा सतर्कता अपनाउँदै आएपनि बुधबारको घटना भएको छ । लन्डनमा भएको आक्रमण फ्रान्सको निस र बर्लिन प्रकृतिकै छ । घटनापछि लन्डनका सडकमा प्रहरी उपस्थिति बढाइएको छ । 

 

Kantipur
No news.
Australian Dollar to Nepalese Rs